राउटेले भिटामिन खान मानेन
अप्रील 26, 2013 at 5:54 अपराह्न टिप्पणी छोड्नुहोस्

उनीहरूले औषधि खानुलाई आफ्नो संस्कृतिविपरीत भएको भन्दै खान नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली सदरमुकाम फिर्ता आएको छ ।
सरकारी नीतिअनुसार सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयले वैशाख ६ र ७ गते राउटेहरू रहेको क्षेत्र सल्यानको कालिमाटीमा स्वास्थ्यकर्मीको टोली पठाएको थियो । उनीहरूले औषधि खान नमानेपछि टोली फिर्ता भएको सुर्खेतको धारापानीस्थित उपस्वास्थ्य चौकीका अहेव प्रेम खत्रीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनअनुसार हामी औषधि बोकेर राउटेबस्ती पुगे पनि उनीहरूले खान नमानेपछि फिर्ता हुनुप¥यो,’ उनले भने, ‘रुपियाँ दिन्छौँ भनेर प्रलोभन देखाए पनि खान मानेनन् ।’
जङ्गलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेहरू अहिले पनि आधुनिक उपचार पद्धतिमा विश्वास गर्दैनन् । सरसफाइमा केही सचेत भए पनि बिरामी पर्दा भने जङ्गली जडीबुटीकै प्रयोग गर्ने गरेका छन् । ‘हाम्रा जनताले औषधि खान मान्दैनन्, तपाईंहरू नरिसाउनु होला,’ राउटे मुखिया ऐनबहादुर शाहीको भनाइ उद्धृत गर्दै अहेव खत्रीले भने, ‘पहिले पनि डाक्टरसाब औषधि खुवाउन आएका थिए, फर्काइदिएका थियौँ ।’
औषधि फिर्ता लैजाउ, बरु रुपियाँ देउ,’ मुखिया शाहीको भनाइ उद्धृत गर्दै अहेव खत्रीले भने, ‘हाम्रा जनताले पेटभरि खान पाएका छैनन्, औषधिले त पेट भरिँदैन ।’
कालिमाटीमा करिब सयको सङ्ख्यामा राउटे छन् । त्यहाँ रहेका पाँच वर्षमुनिका २० बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने सरकारी योजना थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्त श्रेष्ठले जति सम्झाउँदा पनि औषधि नखाँदा सरकारी अभियान प्रभावित भएको बताए । ‘यसले राउटे समुदायमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न चुनौती पनि थपिएको छ,’ उनले भन्नुभयो, ‘यसको लागि विशेष रणनीतिसहित अघि बढ्नुपर्छ ।’
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed