फराकिलो भो पोखराको सडक
अप्रील 29, 2013 at 8:05 अपराह्न टिप्पणी छोड्नुहोस्
कास्की, १६ वैशाख । पोखराका सडकपेटीमा बसेर व्यापार व्यवसाय गर्दै आएका साना व्यवसायीहरूले नगरपालिकाले तोकेको निश्चित ठाउँमा आफैँले टहरा बनाएर व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
छरिएर रहेका साना व्यवसायीहरूले एकै ठाउँबाट व्यवसाय सञ्चालन गर्न थालेपछि यहाँको बजार व्यवस्थित देखिन थालेको छ भने सडकहरू फराकिला बनेका छन् । साना व्यवसायीले सञ्चालनमा ल्याएको बजारलाई व्यवस्थित गर्ने, यसको प्रचारप्रसार र सरसफाई गर्ने जिम्मासमेत पोखरा उपमहानगरपालिकाले लिएको छ ।
सडकपेटीमा व्यापार गर्न दिँदा पोखराको सुन्दरतामा आँच आउन थालेपछि नगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा गत फागुनमा एक हजार २०० फुटपाथ व्यवसायीलाई सडकबाट हटाएको थियो ।
सडकबाट विस्थापित साना व्यवसायीले आफूहरूले नगरपालिकाले तोकेको ठाउँबाटै व्यवसाय सञ्चालन गर्ने भन्दै पटकपटक आन्दोलन गरेका थिए ।
साना व्यवसायी सडकमा उत्रिएपछि नगरपालिकाका प्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता, स्थानीय प्रशासन र व्यवसायी प्रतिनिधिहरूबीच बसेको बैठकले लेखनाथका नन्द तिवारीले भाडामा लिएको पोखराको पृथ्वीचोकस्थित कृषि सामग्री संस्थानको आठ रोपनी जग्ग्ाामा फुटपाथ व्यवसायीहरूलाई राख्ने सहमति भएको थियो ।
वैशाख १ गतेदेखि सञ्चालनमा आएको उक्त बजारलाई व्यवसायीले हङकङ बजार नाम दिएका छन् । नगरपालिकाले सिफारिस गरेका व्यक्तिहरूले मात्र अहिले हङकङ बजारमा व्यवसाय सञ्चालन गरेका छन् । फलफूल, तरकारी, लत्ताकपडालगायतका दैनिक प्रयोगमा आउने सामान एकै ठाउँमा पाइने भएपछि अहिले त्यस ठाउँमा मानिसको भीड लाग्न थालेको छ ।
दैनिक रु ४० देखि रु ६० सम्म भाडा तिर्ने गरी ९/६ फुटको जग्ग्ाा उपलब्ध गराएपछि व्यवसायी आफैंले टहरा निर्माण गरेर बसेको हङकङ बजारका प्रबन्धक मिलन तिवारीले बताउनुभयो । हङकङ बजारमा व्यवसायीलाई गोदाम, चर्पी, पानी र बिजुलीको व्यवस्था गरिएको छ ।
अहिले हङकङ बजारमा ४०० जनाले व्यापार चलाएरु जीविकोपार्जन गरिरहेका छन् । बाँकी रहेका अन्य व्यवसायीले सहमति बमोजिम पुरानो माइक्रो बसपार्क र पोखराको नयाँ बजारमा रहेको कृषि विकास बैंकको जग्ग्ाामा बसेर व्यवसाय गर्दै आएका छन् । रासस
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed