राउटेले झण्डै ५० हजार बराबरको सहयोग लिएर फर्के
अप्रील 29, 2013 at 11:04 बिहान टिप्पणी छोड्नुहोस्
पर्वत-सहयोग संकलनका क्रममा शनिबार पर्वत आएका राउटे समुदायका व्यक्तिहरुले झण्डै ५० हजार बराबरको सहयोग लिएर बासस्थान फर्केका छन् ।
सहयोग माग्दै पर्वत आएका उनीहरुलाई सदरमुकामका विभिन्न विद्यालय सँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति लगायत अन्य विभिन्न सरकारी कार्यालय तथा कर्मचारीहरुले सहयोग प्रदान गरेका थिए ।
सदरमुकाममा सञ्चालित नीजि विद्यालय सँगै शिवालय उच्च माविले राउटे र शिक्षक विद्यार्थी एवं अभिभावक बिच साक्षात्कार कार्यक्रम सञ्चालन गरिएको थियो । यसरी साक्षात्कार कार्यक्रम सँगै आइतबार विभिन्न विद्यालयका विद्यार्थीहरुले खाजा खान विद्यालयमा घरबाट लिएर गएको पैसा राउटेलाई सहयोग गरेका थिए ।
यसरी विद्यार्थी र शिक्षकहरुको सहयोग जुटाएर आदर्श अंग्रेजी आवसीय माविले करिव १५ हजार सहयोग उपलब्ध गराएको थियो भने नमुना आवसीय माविले सरस्वती पुजामा संकलित रकम समेत गरी ७ हजार, गुरुकुल एकेडेमीले ४५ सय, कालीगण्डकी एकेडेमीले ३७ सय रकम सहयोग संकलन गरी प्रदान गरेका थिए । त्यस्तै शहिद स्मारक आवसीय मावि, शिवालय नमुना उच्च माविले समेत सहयोग गरेका थिए ।
त्यसैगरी तीन दिन सम्म पर्वतमा सहयोग संकलन अभियानमा रहेका राउटेलाई जिल्ला प्रशासन कार्यालय पर्वतले १ हजार, जिल्ला विकास समिति पर्वतले ४ हजार रकम सहयोग उपलब्ध गराएका थिए । सदरमुकामका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीबाट झण्डै २० हजार बराबरको सहयोग संकलन भएको थियो ।
यस अघि उनीहरुले सरकारी कार्यालयले कुनै सहयोग नगरेको गुनासो गरेका थिए ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed