निजी विद्यालयहरुले कमिसन खान आफँै पाठ्यपुस्तक बिक्री गर्दै
मे 3, 2013 at 12:53 अपराह्न टिप्पणी छोड्नुहोस्
गोलबजार (सिरहा)-सिरहाका निजी विद्यालयहरुले अवैध तरिकाले स्कुलमै पसल राखेर पाठ्यपुस्तक बिक्री गर्दै आएको छ । तर सम्बन्धित निकाय अझै मौन देखिएको छ ।
नयाँ शैक्षिकसत्र सुरु भएसँगै निजी विद्यालयहरुले आफैँ पाठ्यपुस्तक बिक्री गर्दै आएका कारण अभिभावकहरु ठगिन बाध्य छन् । शिक्षा नियमावली अनुसार निजी विद्यालयहरुले पाठ्यपुस्तक बिक्री गर्न पाउँदैनन् । तर नियम कानुन मिचेर मोटो कमिसन खान विद्यालयका संस्थापकहरुले आफैँ पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।
सिरहा सदरमुकाम, लहान, मिर्चैया, गोलबजारका करिब तीन दर्जन निजी विद्यालयहरुले पाठ्यपुस्तक विद्यालय हाताभित्रै पसल थालेर बिक्री गर्दै आएको अभिभावक सङ्घ सिरहाका अध्यक्ष रामानन्द गुप्ताले जानकारी दिनुभयो ।
अध्यक्ष गुप्ताले अवैध तरिकाले मोटो कमिसन खान निजी विद्यालयले पाठ्यपुस्तक बिक्री गर्दै आएको भनेर जिल्ला शिक्षा अधिकारीलाई पटकपटक आग्रह गरेपनि अनुगमन गर्न नमानेको गुनासो गर्नुभयो ।
‘विद्यालयले पाठ्यपुस्तकको लिस्ट खुल्ला गर्नुपर्ने हो, उहाँले भन्नुभयो, ‘तर सिरहाका निजी विद्यालयहरुले पाठ्यपुस्तकको लिस्ट नै खुल्ला गरेको छैन । जसका कारण अभिभावकहरु ठगिँदै छन् ।’ पाठ्यपुस्तक जहाँ मन लाग्यो त्यही किन्न सक्नुपर्ने अभिभावकहरुको अधिकार निजी विद्यालयहरुले हनन गरेको अध्यक्ष गुप्ताको भनाइ छ ।
यता, जिल्ला शिक्षा कार्यालय सिरहाका शाखा अधिकृत रामदरत यादवले निजी विद्यालयले आफैँ कमिसन खान पाठ्यपुस्तक बिक्री गर्दै आएको विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्कुलमै पाठ्यपुस्तक बेच्न मिल्दैन । अभिभावकले उजुरी गरे अनुगमन गरी कारबाही गर्र्छौ ।’
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed