हिमालयन साँझ सम्पन्न
मे 7, 2013 at 10:01 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो-गोल्डेन वीकको अवसर पारेर रोविनप्रसाद शेरचन र प्रेम श्रेष्ठको संयुक्त आयोजनामा “हिमालयन साँझ” टोकियोमा सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित युगल जोडी गायक उदय सोताङ्ग र गायिका मनिला सोताङ्गका साथमा टोकियोमा रहेका नेपालीहरुले सँगसँगै गाए, नाचे अनि रमाए । पर्वतको रानीपानी गाविसमा रहेको एउटै परिवारका ५ जना अपाङ्ग वालवालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । निर्धारित समयभन्दा केही ढिला शुरु भएको कार्यक्रममा टोकियो आसपासमा वसोवास गर्ने नेपालीहरुले हल खचाखच भरिएको थियो भने नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने जापानी नागरिकहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।
सोही अवसरमा जापानमै स्थापित चौतारी व्याण्डको पनि धमाकेदार प्रस्तुतीहरु रहेको थियो । विशेषतः चौतारी व्याण्डको प्रस्तुतीमा बाँसुरीको धुनले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । उपस्थित जापानिज दर्शकहरु पनि बाँसुरीको तालमा ताल मिलाई थपडी बजाई आफूहरुलाई नेपाली संगीतमा लिप्त बनाईरहेका थिए । त्यसै क्रममा सुदिन गुरुङले पनि आफ्नो सांगीतिक कोशेलीहरु पस्केका थिए । कार्यक्रममा चौतारी व्याण्डले संगीतको माध्यमबाट नेपाललाई विदेशमा चिनाउन प्रयत्न गरिरहेको जानकारी दिईएको थियो । कार्यक्रमको पहिलो चरणमा नै जापनिज गायिका सायाले पनि आफ्नो केही प्रस्तुतीहरु राखेकी थिइन । त्यसो त कार्यक्रममा जादूगर तोकोले आकर्षक जादू देखाएर दर्शकहरुलाई वेग्लै स्वाद चखाएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र रहेको नेपालबाट आमन्त्रित युगल जोडी गायिका मनिला सोताङ्ग र गायक उदय सोताङ्गको प्रस्तुती भने लगभग कार्यक्रमको मध्यभाग भन्दा पछाडि रहेको थियो । नमस्ते व्याण्डका संस्थापक इश्वर गुरुङले सोताङ्ग दम्पतीलाई स्टेजमा निम्त्याएका थिए । अन्य कार्यक्रमहरुमा भन्दा पृथक शैलीमा युगल जोडीको स्टेजमा प्रवेश भएको थियो । युगल जोडी स्टेजको पछाडितिरबाट “आधिबाटो हिडेपछि तिमीसँग भेट भयो” भन्ने बोलको गीत गाउँदै स्टेजमा प्रवेश गरेका थिए । सोताङ्ग दम्पतीलाई स्टेजमा निम्त्याइए पछि सबै दर्शकहरु स्टेजतिर हेरिरहेका थिए । तर एक्कासी पछाडिको ढोकाबाट गाउँदै अगाडि बढन थालेपछि दर्शकहरुमा वेग्लै माहौलको सृजना गरेको थियो । हलको पछाडि दुइतिरबाट गाउँदै स्टेजमा गई भेट भएपछि उदयले मनिलालाई फूलको थुँङ्गा दिएका थिए ।
युगल जोडीले आज तिम्रो कुरा चल्यो, भिज्यो सिरानी, तिमी विना वाँच्न गाह्रो भो जस्ता चर्चित गीतहरु गाएका थिए । कार्यक्रममा सोताङ्ग दम्पतीका छोरी श्रेय सोताङ्गको एल्वम शुरुवातको सिडी विक्री वितरण पनि गरिएको थियो । जसबाट उठेको रकम नेपालको स्कूलका गरीव तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग गरिने जानकारी दिईएको थियो ।
कार्यक्रमको अन्त्यमा सोताङ्ग दम्पती र म्यूजिक एरेन्जर उदय पौडेल, चौतारी व्याण्डका पञ्च लामा, सुदिप गुरुङ्गलाई आयोजकको तर्फाबाट सम्मान गरिएको थियो । त्यसो त जापानमा भएका अन्य संघ संस्थाहरुले पनि सोताङ्ग दम्पतीलाई सम्मान गरेका थिए । सम्मान गर्ने क्रममा वी फल अलका तर्फबाट सरोज खत्री, नेपाल जापान युथ क्लवबाट टासी लामा, किक वक्सिङ्ग च्याम्पियन मोहन ड्रागन, तामाङ्ग समाजबाट संजिव तामाङ्ग लगायतका व्यक्तित्वहरुले सम्मान गरेका थियो
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed