घुम्ती शिविरमा अवरोध, झडपमा प्रहरीसहित ५ घाइते
मे 16, 2013 at 12:35 बिहान टिप्पणी छोड्नुहोस्
सुर्खेत-मैनतडाको जहरेमा बुधबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविरमा नेकपा-माओवादीले अवरोध पुर्याएको छ । घुम्ती शिविरको काम सुरु हुन बित्तिकै माओवादीका कार्यकर्ताहरुले नारा जुलुससहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र माओवादी कार्यकर्ताबीच झडपसमेत भएको छ ।
दश मिनेटसम्म भएको झडपमा २ प्रहरी र ३ माओवादी कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले १६ राउन्ड अश्रुग्याँस हानेको थियो । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका सहायक हवल्दार मानबहादुर बुढा, जवान नरबहादुर आचार्य र माओवादी कार्यकर्ताहरु सहवीर महर, टेकबहादुर तिरुवा र रामबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले शिविरमा अवरोध गर्न ढुङ्गामुढा गर्ने ९ माओवादी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपा-माओवादीका केन्द्रीय सदस्य भरत बम, राज्य समिति सदस्य जेवी सुनार, जिल्ला कमिटी सदस्य तुल्सीप्रसाद पौडेल र कार्यकर्ताहरु खेगेन्द्र बुढा, सोमबहादुर राना, टोपबहादुर चलाउने, देवबहादुर चलाउने, कुलबहादुर परियार, पूर्णवहादुर परियार रहेका छन् ।
नेकपा-माओवादी जिल्ला कमिटी सुर्खेतले आफ्ना कार्यकर्तालाई तत्काल रिहाइ नगरे बिहीबार बन्द गर्ने चेतावनी दिएको छ ।
बुधबार एक विज्ञप्ति निकालेर माओवादीले आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा राखेर यातना दिएको भन्दै आपत्ति प्रकट गरेको छ । पार्टीको शान्तिपूर्ण जुलुसमाथि हस्तक्षेप गरी विनाकारण प्रहरीले मुठभेडको स्थिति सिर्जना गरेको आरोप माओवादीको छ ।
घुम्ती शिविर केही समयपछि सुरु भएको थियो । साँझ भने स्थिति सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुशिल यादवले जानकारी दिनुभयो ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed