खाद्यान्न समस्या हुने जिल्लामा ४० प्रतिशत अन्न मदिरा उत्पादनमा
जुन 14, 2013 at 11:52 बिहान टिप्पणी छोड्नुहोस्
रुकुम-सँधैजसो भोगमरीको समस्याले ग्रस्त दुर्गम जिल्लाहरुमा उत्पादित खाद्यान्नमध्ये ४० प्रतिशत खाद्यान्न मदिरा उत्पादनमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालको पछिल्लो प्रतिवेदनअनुसार जिल्लाको कलस्टर ए अर्न्तर्गत पर्ने गाविसमा उत्पादन हुने खाद्यान्नमध्ये ७० प्रतिशत खानामा, २० प्रतिशत पशुचौपायालाई खुवाउन र १० प्रतिशत जाँड रक्सी बनाउनमा प्रयोग हुने गरिएको छ । त्यस्तै कलस्टर बी अर्न्तर्गत पर्ने गाविसहरुमा हुने उत्पादनमध्ये ५० प्रतिशत खाद्यान्न खानामा, २० प्रतिशत पशुचौपाया र ३० प्रतिशत खाद्यान्न जाँड रक्सी बनाउनमा प्रयोग हुने गरेको समितिको दाबी छ ।
सञ्जालका अनुसार आफैले उत्पादन गरेको मकै, चामल, कोदोलगायत खाद्यान्नको प्रयोग गरी जाँड रक्सीलगायतका घरेलु मदिरा तयार पार्ने गरिएको छ । खाद्यान्नको बिक्रिबाट भन्दा त्यसबाट उत्पादित मदिराबाट बढी कमाई हुने भएपछि यस्तो क्रम बढिरहेको ठहर सञ्जालले गरेको छ ।
सञ्जालका सदस्य तथा खाद्य संस्थान रुकुम शाखाका प्रमुख प्रेमनारायण भण्डारीले खाद्यान्न्ा सङ्कट उत्पन्न हुनुमा जाँड, रक्सी बनाउने कार्यले ठूलो भूमिका खेलिरहेको बताउँदै यस कार्यलाई तत्काल निरुत्साहित गर्नुपर्छ अन्यथा यसले चरम समस्याको रुप नलेला भन्न सकिन्न भन्नुभयो ।
खाद्य संस्थानका शाखा र डिपोहरुबाट खरिद गरिएको चामलबाट पनि जाँड रक्सी बनाउने क्रम सुरु भैसकेको छ । कतिपयले भोकमरीको कारण बनाएर धेरै चामल लिने र त्यसलाई जाँड रक्सी बनाउनमा प्रयोग गर्ने गरेको पनि पाइएको छ ।रासस
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed