यौनहिंसाको आरोपमा १ लाख तिराईयो
जुन 14, 2013 at 12:36 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो-यौनहिंसाको मामिलामा अत्यन्त कठोर कानून रहेको जापानमा पछिल्ला दिनहरुमा नेपालीहरु पनि अनाहकमा यसको शिकार बन्न पुगेका घटनाहरु बढ्न थालेका छन् । विशेषगरी रेलको यात्रा गर्ने क्रममा यसप्रकारका घटनाहरु हुने गर्दछ । हालैका दिनहरूमा यस्ता घटनाहरूबाट नेपालीहरु पनि पीडित बन्न पुगेका छन् ।
केही दिन अगाडि मात्र इण्डियन रेष्टुरेन्टमा काम गर्ने कँडेल थरका एक नेपाली युवक ओता वार्डमा एक जापानी महिलालाई जवरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परी अहिले उनी मुद्दा खेपिरहेका छन् । उक्त घटनाको जापानका मिडियाहरुले सचित्र प्रसारण गरेका थिए । यस प्रकारका घटनामा नेपालीहरुको संलग्नता हुनुले सारा नेपालीको प्रष्ठिामा आँच आएको यहाँका वुद्धिजीवीहरु बताउँछन् ।
यस्तै प्रकृतिको अर्को घटना फेरि अघिल्लो घटनाको लगत्तै यामानोते लाईनको ओसाकी स्टेशनमा पनि घट्न पुगेको छ । ट्रेन छुट्ने चिन्ताले हतारमा रहेका एक युवक ओसाकी स्टेशनमा दगुर्दा अन्जानवश उनका अगाडि हिडिरहेका जापानी युवा जोडी मध्यका युवतीलाई धक्का लाग्न पुगेको थियो । ती महिलाले आफूलाई खराब नियतले समाउन आएकोले सरासर यौनहिंसा भएको आरोप लगाउँदै नजिकैको प्रहरीमा उजुरी गरेकी थिईन् । सँगै रहेका ती युवतीको केटा साथीले पनि जानीजानी यौनहिंसा भएको भन्दै कानून बमोजिम सजाँय र हर्जानाको दावी गरेका थिए । प्रहरीको फन्दामा परेका आरोपित ती नेपाली युवकलाई ३० मान जरिवाना तिरे छाडिदिने नत्र नछाडिने बताएपछि आफू अन्यायमा परेको भन्दै ती युवकले नेपाली समुदायका एक अगुवासँग सहयोगको याचना गरेका थिए । त्यसपछि घटनास्थल पुगेका ती अगुवाले भए भिडियो रेकर्ड वा अन्य कुनै प्रमाण पेश गरेमा गल्ती स्वीकारी कानून बमोजिमको जरिवाना तिर्न तयार रहेको तर्क राखेपछि आफूमाथि यौनहिंसा भएको बताउने ती युवती र प्रहरीले कुनै प्रमाण पेश गर्न सकेका थिएनन् । भुलवश भएपछि छुन पुगेको तर नियतवश नभएको भन्दै अन्तमा घटनालाई साम्य बनाउन १० मान येन तिरेर मिलापत्र गर्ने दुवै पक्षबीच सहमति भएको ती अगुवा नेपालीले बताए ।
भिडभाड र ठेलमठेलको स्थितिमा रेलमा यात्रा गर्दा भुलवश महिलाको शरीरमा छुन मात्र पुग्यो भने प्रमाण नभए पनि महिलाको मौखिक उजुरीको आधारमा प्रहरीले ३० मान येन जरिवाना गराई छाडिने गरिन्छ । विशेषगरी विदेशीहरु यस्ता घटनाको शिकार बन्न पुग्ने गरेका छन् । नियममा यौन हिंसा (चिकान) गरेबापत उक्त जरिवाना तिर्नुपर्ने भएपछि आर्थिक प्रलोभनबाट ग्रसित खराब नियतका जापानी महिलाहरुले सोझा विदेशीहरुलाई कपोलकल्पित आरोप लगाई अनाहकमा फसाउने गरेको पाइन्छ । यसप्रकारका घटनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सबै नेपालीहरु सजग र सचेत रहनुपर्ने नेपाली समुदायको अगुवाहरु बताउँछन् ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed