नेकपा–माओवादीले फेरि जग्गा कब्जा गर्न थाले
जुन 15, 2013 at 3:51 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपालगञ्ज-नेकपा–माओवादीले बाँकेको फत्तेपुर गाउँ विकास समिति वडा नम्बर ७ मा चार जनाको २९ बिगाहा भन्दा बढी जग्गा कब्जा गरेका छन् । नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल किसान संघ क्रान्तिकारीले झण्डा गाडेर फिल्मी शैलीमा जग्गा कब्जाको घोषण गरेका हुन् । उनीहरुले फत्तेपुर–७ का पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको १६ बिगाहा ८ कठ्ठा १० धुर र उर्मीलादेवी बर्मा र जुद्धकुमारी अधिकारीको नाममा रहेको १३ बिगाहा जग्गा कब्जा गरेका हुन् । जनआन्दोलनको समयका ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गरिएकोले जग्गा कब्जा गरेको नेकपा–माओवादीका केन्द्रीय सदस्य आईपी खरेलले जानकारी दिए । खरेलसहित दर्जन भन्दा बढी नेताहरु गएर जग्गा कब्जा गरेको घोषण गरेका थिए । विगतमा संयुक्त आन्दोलन गर्दा माओवादीले थुप्रै जग्गाहरू कब्जा गरेका थिए । अहिले माओवादी विभाजन भएर दुइ टुक्रा भएको छ भने पुरानै नीतिलाइ पछ्याउँदै वैद्य समुहले जग्गाहरू कब्जा गर्न थालेको हो । त्यसो त द्वन्दकालमा कब्जा गरिएको जग्गाहरू अझै फिर्ता भैसकेको छ, छैन भनेर कुनै निकायसँग सही तथ्यांक छैन । लामो द्वान्दको प्रसव पीडाबाट देशले निकासा पाइ अब संविधान सभा निर्वाचनको तिथिमिति समेत घोषणा भएको अवस्थामा एक समूह कुनै हालतमा चुनाव हुन नदिने जिकिर गर्दै पुरानै शैलीमा जग्गा कब्जा गर्ने, जनतामा त्रास फैलाउने गर्न थालेपछि देशको अवस्था अव कतातिर मोडिन्छ भनेर सजिलै भन्न नसकिने अवस्था रहेको छ ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed