बाघमारे खुल्ला दिसामुक्त गाविस घोषित रे
जुलाई 2, 2013 at 4:14 अपराह्न टिप्पणी छोड्नुहोस्
संसारका अन्य मुलुकहरूले विभिन्न क्षेत्रमा गरेको विकासको कुरा गरेरै साध्य छैन अहिले । हिजो ढुंगे युगबाट शुरू भएको भनिएको मानव इतिहास अहिलेको विकसित राष्ट्रहरूको विकासले गर्दा ती कुराहरू दन्त्य कथा झैं लाग्न थालिसके । विकासले नै मान्छे चन्द्रमामा वास खोज्न थालेका छन् भने अन्य ग्रहहरूमा पनि कतै मानव वस्ती बसाउन सकिन्छ कि भनेर रातदिन खोजी गर्दैछन् ।
यी त भए मानवले गरेको आधुनिक विज्ञानको कुरा । त्यति मात्रै नभइ हाम्रै छिमेकी राष्ट्र भारत र चीनलाइ हेर्ने हो भने पनि विकासको फड्को मारेर कता हो कता पुगिसके । ६० वर्ष अगाडि नेपालले सहयोग गरेको चामलको भात खाएर पेट भरेका कोरिया अहिले आर्थिक रूपमा धेरै नै माथि पुगिसकेको छ । संसारका अन्य राष्ट्रहरू कसरी आफ्नो नागरिकहरूलाइ रोग र भोक मुक्त गर्ने भनेर रातदिन लागि परेका छन् । हाम्रो नेपालमा भने २१ अाै शताब्दीमा आएर पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दैमा फुर्सद छैन । सकिन्छ भने हड्ताल मुक्त बनाउ, देशमा भयमुक्त वातावरण बनाउ, बेरोजगारीबाट मुक्त बनाउ । हुन त खुल्ला दिसामुक्त पनि नगरी हुँदैन तर यो नै के के न ठूलो कुरो गरेको झैं यसो गरें भनेर नभन्दा पनि फरक नपर्ला हैन र ? संसारमा अन्य मुलुकहरूले कतिठूला ठूला कुरा व्यवस्थापन गरेर कीर्तिमान राखेका छन् नेपालमा भने खाएको फाल्न पनि व्यवस्था गर्न नसकेर यति वटा गाउँ दिसामुक्त र उति वटा गाउँ के मुक्त । अचम्म लाग्छ बा …..
ल हेर्नुहोस् समाचार
…………………………………………………….
तुलसीपुर-जिल्लाको विकट गाविसका रूपमा चिनिने बाघमारे गाविसलाई सोमबार एक कार्यक्रमबीच खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । सो गाविसमा रहेका एक हजार आठ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएपछि उक्त गाविस जिल्ला २२ औँ खुल्ला दिसामुक्त गाविसका रूपमा घोषणा गरिएको हो । गाविसमा रहेका ८० घरधुरी अति विपन्न परिवारलाई भने शौचालय निर्माणका लागि गाविसले नै निर्माण सामग्री उपलब्ध गराएको थियो भने अन्य घरमा भने नागरिकले आफ्नै लगानीमा शौचालय निर्माण कार्य सम्पन्न गरेका हुन् । स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेलले गाविसका नागरिकलाई शौचालयबाहेक अन्य स्थानमा दिसा गर्ने छैनौँ भन्दै सपथ खुवाएर उक्त गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गर्नुभयो । सो अवसरमा खानेपानी कार्यालय दाङका प्रमुख अरूण सिंखडाले गाविसलाई खुल्ला दिसामुक्त गराउन सफल भएको भन्दै उक्त गाविसलाई रु दुइ लाख पुरस्कार पनि प्रदान गर्नुभयो । जिल्लालाई सन् २०१४ सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणा गरी पूर्णरूपमा सरसफाइ जिल्ला बनाउने सरकारी नीति रहेको छ भने यसअघि यहाँका ३९ गाविसमध्ये २१ वटा गाविस खुल्ला दिसामुक्त भइसकेका छन् । अरू गाविसमा पनि यो अभियानले तीव्रता पाएको छ ।
यहाँका दुइवटा नगरपालिकामा हालसम्म तीनवटा वडा मात्र खुल्ला दिसामुक्त हुन सकेका छन् । अन्य वडामा भने यो अभियान जारी नै छ ।
…………………………………………………………
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed