अुनभव-अनुभूति
अगस्ट 9, 2013 at 12:43 बिहान टिप्पणी छोड्नुहोस्
म सानो छंदा बारम्बार छिमेकीकोमा नून पैंचो माग्न गएको याद अझै ताजै छ । आफूलाई माग्ने भनेपछि साह्रै लाज लाग्ने सानैदेखि तर के गर्ने परिस्थिति त्यस्तै पर्ने । अझै पनि अैंचो पैंचो, सरसापटले नै धानिएको छ सरल ग्रामीण परिवेश । वर्षमा एक पटक वर्षभरीको लागि नूनतेल खरीद गर्न वजार जान्थे गाउँलेहरू । वाटोघाटोको सुगमता नभएको करणले वारम्वार र एक्लोदुक्लै जान सक्ने अवस्था थिएन वजारसम्म । कथंकदाचित आधी वर्षमै नूनतेल सकियो भने छिमेकीमा पैंचो मागेर चलाउनु भन्दा अरू उपाय हुँदैनथ्यो । कोदोमकै, सागसब्जी भए आफ्नै वारीमा फलाउन पनि सकिन्थ्यो तर नून तेल नभै पनि नहुने, आफै उत्पादन गर्न पनि नसकिने । नून नभए अलुनो तरकारी खानु पर्ने र तेल नभए अँध्यारोमा नै केही समय गुजारा गर्नुपर्ने हुन्थ्यो कहिलेकाहीं त । त्यो भन्दा लाज पचाएर भएपनि छिमेकीकोमा माग्न जानु सिवाय अरु उपाय हुँदैनथ्यो ।
मेरो वाल मष्तिस्कले कहिले काही वर्षभरीको नूनतेलको जोहो गर्न नसकेकोमा आफ्नै अभिभावक र परिवारप्रति घृणा जागेर आउँथ्यो । छरछिमेकका साथीभाईहरूले नून तेल पैंचो माग्न हिंडेको देखेर गिज्याउँथे । छिमेकी पनि कोही दयालु थिए त कोही टंुडे बचन लगाउँथे । मन बुझाउन कै लागि भएपनि मनमनै “नतिरिने होईन छरछिमेक भएर पनि जाबो दुई चार छाक नून पैंचो दिंदैनन् भने के काम” भनेर कन्जुसे छिमेकीलाई सराप्थें । नसुनिने गरेर गाली गरेर केही हुने त होईन नै तर एउटा आत्मा सन्तुष्टि । कुनी के जातिले सराप्दैमा मोटो गोरू मर्दैन भन्छन आखिर वास्तविकता त्यही नै हो । समयको परिवर्तनसँगै परिस्थिति र परिवेशले कोल्टे फेर्दै जाने रहेछ । त्यसो त उमेरले उकालो लागेसँगसँगै वाल मस्तिष्कले सोचिएका सीमित घेराहरूमा पनि परिवर्तन हुनु स्वभाविकै हो । हिजो आफू र आफ्नो परिवारकै सीमित घेराभित्र मात्र सोचेको मेरो वाल मस्तिष्कले आज विस्तारै गाउँ, टोल, क्षेत्र र सिंगो राष्ट्रको वारेमा पनि सोच्न कर लाग्दो रहेछ । हिजो गरीव परिवारको एक सदस्य म आज एक गरीव राष्ट्रको नागरिकको रूपमा मेरो विदेशी साथीहरूको माझमा उभिंदा आफूलाई जहिल्यै होचो महशुस गर्दछु । सायद संकीर्ण सोचाईले यस्तो महशुस भएको भन्नेहरू पनि नहोलान भन्न सकिन्न तर व्यवहारमा परेपछि थाहा पाईंदो रहेछ । नेपाली भएर हरेस खानु हुँदैन भन्ने खालको विचार केही समय अगाडि कर्ण शाक्यको सोच भन्ने कितावमा पढेको थिएँ । एक हदसम्म त्यो सत्य पनि हुन सक्छ तर सँधैभरी सगरमाथाको उचाईले मात्र नेपालीको शिर उच्च राखिरहन सक्दैन । नेपाली भन्ने वित्तिकै, हरियो पासपोर्ट देख्ने वित्तिकै भिन्दै नजरले हेर्ने नेपालको वर्तमान स्थितिमा सुधार गर्न न त कुनै राजनैतिक दलवलले नै सक्छ न त पशुपतिनाथले नै । हरियो पासपोर्ट बोकेकै कारण दुई वर्ष अगाडि कलेजबाट कोरिया भ्रमणमा जाँदा कोरिया एयरपोर्टमा आधि घन्टा नानाभाँति सोधेर हैरान पारेको अझै मेरो मस्तिष्कमा ताजै छ । सँगै गएका अरू देशका साथीहरूले सहानुभूतिको रूपमा खिसी टिउरी गरे । साथीहरूले खिसीटिउरी गरे भन्ने मेरो सोचाईभ्रम थियो भने त्यसपछि लगत्तै साथीहरूको म प्रतिको व्यवहारमा एकाएक परिवर्तन हुनुलाई मैले के भन्ने ? हामी स्वबलम्भी नेपालीहरूको बोलाई र व्यवहारमा आकाश पातलको अन्तर छ । हामी यो र उ गर्छौं भनेर जे-जे गफ हाँक्छौ, त्यो व्यवहारमा गर्दै गर्दैनौं । अनि जे-जे गर्दैनौं भनेर वाचा कसम खान्छौं, त्यो घरीघरी दोहोर्याईरहन्छौं । कल्पनाको लड्डु ध्यूसँग खान साह्रै आनन्द आउँछ भन्छन हामी त्यही लड्डु हरेक दिन कपाकप खान्छौं । … क्रमश
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed