बेलायती प्रधानमन्त्री क्यामरूनले नेपाल भ्रमण गर्ने ….रे
अगस्ट 30, 2013 at 9:40 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापना भएको दुइ शताब्दी हुँदा पनि आजसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । तर सन् २०१४ मा बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले नेपालको भ्रमण गर्ने प्रवल संभावना भएको जानकारी बेलायतको फक्सटन टाउनका पूर्वकाउन्सिलर पूर्वगोर्खा सैनिक धन गुरुङ किरणले दिएका छन् । नेपाल भ्रमणमा आएका गुरुङले पोखरा भ्रमणको क्रममा बिहिवार चिउली पाचे तमु समाजले उनको सम्मानमा आयोजना गरेको कार्यक्रम र प्रेस यूनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा यो जानकारी दिएका हुन् ।
नेपाली मूलका ब्यक्तिले पहिलो पटक बेलायतमा काउन्सिलर पदमा निर्वाचित भएर गुरुङले चार बर्षको कार्यकाल ब्यतीत गरिसकेका छन् भने हाल उनी लिवरल डेमोक्र्याटिक पार्टीको केन्द्रीय समितिको सदस्यसमेत छन् । लिबरल डेमोक्र्याटिक पार्टी बर्तमान समयमा बेलायतमा सत्ता साझेदारीमा छ ।
गुरुङ झापामा बसोबास गरे पनि उनको पुर्खौली थलो भने कास्कीको सिकलेश हो । उनले ब्रिटिश गोर्खाहरुको हक–हितका लागि गोर्खा जष्टिश टिममा जोहना लुम्लेसँगै महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए ।
गुरुङले नेपालको बिकास निर्माणका लागि सहयोग जुटाउन आफूले प्रयास गरिरहेको बताए । गैह्रआवाशीय नेपालीले आर्जन गरेको रकम नेपालको बिकासमा लगाउने वातावरण र कानून नेपालमा नभएको र यसका लागि सरकार र मिडियाले पनि प्रयास गर्नुपर्नेमा उनले जोड दिए । पूर्वगोर्खा सैनिकहरुको समान पेन्सनका लागि पनि प्रयत्न भैरहको र यो संभव भएमा धेरै गोर्खा सैनिक स्वदेश फर्कने दावी उनले गरे । हाल बेलायतमा करीब ३० हजार पूर्वगोर्खा सैनिक छन् ।
चिउली पाचे तमु समाजको कार्यक्रममा पूर्वसांसद मेजर दीपक गुरुङले पूर्वगोर्खा सैनिकहरुको हित र कल्याणका लागि काम भैरहेको बताए । नेपाली कांग्रेस महासमिति सदस्य रसकुमारी गुरुङ, नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सदस्य भीमकाजी गुरुङले जनजातिको हक र हितका लागि सचेत हुनेपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता समाजको अध्यक्ष क्या गुमानध्वज गुरुङले गरेका थिए ।
प्रेस यूनियनका अध्यक्ष शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पूर्वकाउन्सिलर धन गुरुङले प्रेस यूनियनको अक्षय कोषका लागि रु ३१ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
Entry filed under: प्रवास.
Trackback this post | Subscribe to the comments via RSS Feed