जात्रैजात्राको देश नेपालमा सँधै गाइजात्रा…
सेप्टेम्बर 3, 2013 at 11:49 बिहान टिप्पणी छोड्नुहोस्
-सन्तोष सुवेदी
२०७० सालको क्यालेन्डरले नेपालमा यो वर्षको गाईजात्रा आएको संकेत गरेको छ । तर विशेष तिथि मिति तोकेर राखिएको भए पनि नेपालमा ३६५ दिनै गाईजात्रा हेर्न पाइन्छ । यो सुविधा नेपाली जनताको लागि राजनीतिक नेताहरुले दिएको भोटको उपहार हो । नेपालमा सधैँ जात्रा, कहिले नेताको जात्रा, कहिले कलाकारको जात्रा, कहिले बन्दको जात्रा त कहिले महङ्गीको जात्रा । जात्रै जात्राको देश हो नेपाल । राजनीतिक दलको किचलो , कुर्सिको लोभ , जनता झुक्काउने काम, कुम्लाउन खोज्ने दामले गर्दा नेपाली जनताले सँधै गाइजात्रा देखिसकेका छन् र दिक्क पनि भइसकेका छन् ।
नेपालमा ३६५ दिनै गाईजात्रा भएपनि वास्तवमा इतिहास पल्टाउँदा राजा जगतप्रकाश मल्लको पालादेखि प्रारम्भ भएको हो । भक्तपुरका राजा जगतप्रकाश मल्लकी रानी आफ्नो छोराको निधनले शोकाकुल भएपछि राजाले उनलाई हँसाउन आफ्ना प्रजाहरुलाई एक दिनका लागि जे जस्तो रुप धारण गर्न छुट दिएपछि नेपालमा गाईजात्रा मनाउने परम्पराको थालनी भएको मानिन्छ । यो चलन हिजोआजसम्म निरन्तर चलिरहेको छ । तर नेताहरुले देखाएको गाईजात्रा नितान्त भुँडी भर्ने हो, जसले जनतालाई हँसाउनको साटो रुवाउँछ । उनीहरुले विना रिहर्सल जीवन्त अभिनयका साथमा गाईजात्रा देखाइरहेका छन् । संसद भवन नेताहरुको गाइजात्रा देखाउने गतिलो स्थल बनेको छ । कुर्सी र टेवुल नाटकका निर्जिव प्रयोग गरिने पात्रहरु हुन् । कहिले पिटिन्छन् त कहिले फोरिन्छन् ।
पार्टीका नेताहरुको बानी व्यहोरा चर्चा गर्दा राजनीतिक दलको ठुलो पार्टी माओवादीका नेता, कोही सधै कुरा फेरिरहन्छन्, आधुनिक युवतीले कपडा फेरेझै भने कोही बुद्धिजीवि तर दिमाख चलाउन सक्दैनन् अनि भन्न मन लाग्छ दिमाख लगा पासा । दोस्रो ठूलो पार्टी काँग्रेसका नेताको त कठै भन्ने अवस्था छ, कोही बोलेकै बुझिन्न,त कोही घाँटी थिचेर बोलेजस्तो त कोही तोते बोलेजस्तो । उता एमालेको त भरै छैन कोही वर्तमान परिपे्रक्षमा भन्दै भविष्यको चिन्ता नगर्ने त कोही उखानमा पोख्दै अर्कालाई गाली गर्नेमा एक नम्बर तर काम मा सँधै पछाडि । देश हाँक्ने भन्ने शीर्ष पार्टीका नेताहरुको अवस्था र बोलीको विश्वास छैन अनि कहाँबाट बन्छ संविधान र नयाँ नेपाल । मुसाले धान खाए जस्तै नेताले संविधान खाए भने जनता चकित खाए । हरे, शिव शंकर भोला नयाँ नेपाल हेर्ने आशमा जाने भो यो चोला ।
देशमा बाढीले धेरैलाई विचल्लीमा पार्यो । राहतको नाममा चिउरा र दालमोटले स्थान पायो । प्लेनमा नेता अवस्था बुझ्न आए अनि फर्किए । विचरा पीडितहरु प्रकृतिबाट त पीडित भएभए आशा गरेका व्यक्तिबाट पनि पीडित । देश बनाउँछु भन्नेहरुले माखो मारेनन् । के भन्नु, कति भन्नु देशका नेताहरुको हविगत, सधैँ कुर्सिमा कुस्ति । बर्षै पहिले देशलाई स्वीजरल्यान्ड बनाउँछु भन्नेहरुले देशलाई स्वीकिनेल्यान्ड बनाउन थाले । अनि कहाँबाट कसरी पुछिन्छन पीडित परिवारका बगेका आँशु । नेताहरु पालो पालो गरी विदेश जान मै ठिक्क तर जनताहरु सँधैभरी दिक्कको दिक्क ।
लौन पशुपतिनाथ देशका नेताहरुलाई बुद्धि दिनुपर्यो । झगडा गर्ने दिमाखमा शान्ति भरिदेउ, भष्ट्रचार गर्ने खोज्ने दिमाखमा सामाजिक सेवा गर्ने बुद्धि देउ, विदेश भ्रमण गइरहने नेताको बुद्धिमा दुर्गम क्षेत्र र बाढी पीडित क्षेत्र जाने बुद्धि मिलाइदेउ । हैन भने त देशमा भाँडभैलो मच्चिने भो । कहिले २२ बुँदे भनेको छ त कहिले २४ बुँदे, मंसिरमा गरिने चुनावमा कतिपय नेताले भाँझो थापिरहेका छन् । देशको प्रमुख राष्ट्रपतिको गति डराउटे, जसले गर्दा देश लुगलुग कामिरहेको छ । यस्तो छ देश बनाउनेको चाल महङ्गीले आकाश छोयो, चक्काजाम र तोडफोडमा युवालाई किन्न थालियो जसले गर्दा युवाको भविष्य अन्धकार भएको छ ।
यस्तो छ राजनीतिक नेताको काम अव चलचित्र क्षेत्रतर्फ पनि जाम । पैसा हुने हिरो, अभिनयमा जिरो । झन नायिकाको त बेहालै छ, नायिकानायिका बिच कपडा फुकाल्ने प्रतिस्पर्धा नै हुन थाल्यो, किस सिन र बेडसिनेले चलचित्रलाई कामुक तुल्यायो । नेपाली चलचित्रका आयु एक हप्ताको हुन थाल्यो, निर्माता निर्देशक नायिका नङ्गाउनमा ठिक्क यता दर्शक नेपाली फिल्म हेरेर दिक्क अनि कसरी हुन्छ विकास । यहाँको चलन यस्तै छ । कालो सम्पत्ति थुर्पानाले नेता विग्रे, नेताको आश गर्नाले जनता बिग्रे , फेसबुक चलाउनाले श्रीमती बिग्रे, भट्टी धाउनाले श्रीमान बिग्रे, कानमा मुन्द्रो लगाउनाले छोरा बिग्रे अनी छोटो बस्त्र लगाउँदै केटा फेर्नाले छोरी बिग्रे ।
गीत संगीतको पनि चर्चा पनि त्यस्तै छ । पैसा हुने गायक भए स्वर सुनियो बोरा च्यातेजस्तो, पैसा हुने मोडल भए नाचेको हेरियो बारीको डिलमा बाँदर नाचे जस्तो । पाइरेसीले धेरैलाई पार्यो मारमा , सिआरबिटी चोर्ने चढ्दै हिँड्छन् कारमा अनि कसरी बाँच्छन सर्जक ? यसको खोजीनीतिमा सम्बन्धित निकायको ख्याल होस् अनि गर्वसँग भन्न पाइयोस, जय गीत जय सङ्गीत ।
यो वर्षको तीज पनि आउँदैछ । केटाले गाए, केटा नै नाँचे अनि महिलाहरुले हेरेर थपडी बजाए । यसलाई पनि परिर्वतन भन्छन क्यार पहिला महिलाले गाउँथे पुरुषले हेरेर बस्थे अहिले चलन उल्टियो । तीज गीतमा रत्यौली भित्रियो, तीजे पन हरायो ।
यस्तो छ नेपालका राजनीती, सामाजिक रीतिरिवाज अनि संस्कार । यहाँ सबै डेट एक्स्पाएर भइसके सबैलाई रिन्यू गर्नुपर्यो, अनिमात्र देश विकास होला, हैन भने बिग्रको देशको भत्केको चाल, जता हेर्यो प्वालै प्वाल भने झैं हुनेभयो । सम्बन्धित पक्षले बेलैमा ध्यान लगाए पनि जाइजात्रा, नलगाए पनि जाइजात्रा । जात्रैजात्राको देश नेपालमा सँधैभरी गाइजात्रा ।
Entry filed under: विचार.
Trackback this post | Subscribe to the comments via RSS Feed