लाहुरे वेलायतमा, जग्गा अर्कैको नाममा
नोभेम्बर 30, 2013 at 2:00 अपराह्न टिप्पणी छोड्नुहोस्
पोखरा-‘सोझाको एक दाउ, ठगको सय दाउ’ भन्ने उखान यतिखेर नेपालमा हावी भएको छ । विशेष गरी लाहुरेहरूको शहर भनेर चिनिने पोखरामा यतिखेर विदेशमा भएका लाहुरेहरूका जग्गा ठगहरूले जाली कागजपत्र बनाइ वेचविखन गर्ने धन्दा फस्टाएको छ ।
वेलायत सरकारले भूतपूर्व गोर्खाहरूलाइ वेलायतमा स्थायी बसोबासको अवसर दिएपछि लाहुरेहरू स-परिवार वेलायतिर लागेका छन् । कतिपयले आफ्नो नाममा भएको घरजग्गा आफन्तको जिम्मामा लगाएका छन् भने कतिपयको घरजग्गा विना रेखदेख त्यसै थन्किराखेको अवस्था छ । यही अवस्थाको फाइदा उठाउँदै ठगहरूले नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा विक्री गरेको घटनाहरू बढ्न थालेका छन् । लालपूर्जा मात्र नभइ नागरिकता नै नक्कली बनाएर अर्कैको जग्गा बेचेको अभियोगमा काभ्रे बन्थलीका कृष्ण र उनलाइ सहयोग गरेकी अनिता शर्मा यतिखेर जेलको हावा खाँदै छन् । त्यसो त उनका अन्य सहयोगी सहित मुख्य योजनाकार भने अझै वेपत्ता रहेको अवस्था छ ।
स्याङ्जाका रंगप्रसाद श्रेष्ठको पोखरा-८ जाल्पारोडमा रहेको ११ आना जग्गा कृष्णले आफू रंगप्रसाद बनी पर्वत तिलाहारका रत्नवहादुर खत्रीलाइ ९५ लाखमा जग्गा विक्री गरेका थिए । मालपोत कार्यालय कास्कीको रेकर्डमा भने २७ लाख रूपैयाँमा जग्गाको किनवेच भएको उल्लेख छ ।
फरार रहेका आरोपित प्रतिवादीका हकमा भने पक्राउका लागि वारेन्ट जारी हुने प्रहरीले बताएको छ । प्रहरीले सबै २१ जनाविद्धरु मुलुकी ऐन ठगीको १ र ४ महलअनुसार हदैसम्मको कारबाही माग गर्दै मंगलबार मुद्दा दायर गरेको थियो। वास्तविक जग्गाधनी स्याङ्जा जगत भन्ज्याङका रंगप्रसाद श्रेष्ठ भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी बेलायततिर भएको अनुमान छ। ठगले स्याङ्जा जिल्लाबाट २०३६ सालमा लिएको नागरिकता रंगप्रसादको नाममा तयार गरी कृष्णबहादुरको फोटो टाँस गरेको थियो ।
मालपोतको रेकर्डअनुसार रंगप्रसादले २०४७ सालमा उक्त जग्गा किनेका थिए। कास्की प्रहरीका प्रवक्ता राजेशनाथ बाँस्तोलाका अनुसार कृष्ष्णबहादुरलले पैसाको लोभमा अर्कैले अह्राएर काम गरेको बयान दिएका छन्। जग्गाधनी नेपालमा नभएको सुइँको पाएको ठग गिरोहले मजदुरी गर्ने कृष्णलाई प्रयोग गरेको बुझिएको छ। उनको फोटो टाँसेर रंगप्रसादका नाममा नागरिकता र फोटोबिनाको लालपुर्जा तयार भएपछि जग्गा कारोबारमा स्याङ्जाकै अनिताले सघाएकी थिइन्।
असोज २१ गते किनेको जग्गामा ठगी भएको भेउ पाएपछि क्रेता रत्नबहादुरले कात्तिक १५ गते वास्तविक धनीका नाममा फिर्ता गरिदिएका छन्। जग्गा फिर्ता गरी प्रहरी प्रशासनकहाँ गुहार माग्न गए पनि उनको पैसा फिर्ता भएको छैन।
वडा कार्यालयले जग्गाको हालसाविक मुचुल्का तयार पर्दा राखेका ६ जना साक्षी पनि अहिले यो मुद्दामा तानिएका छन्। ठग गिरोहका योजनाकारले ६ जना महिलाको नागरिकता लिई उनीहरुलाई थाहै नहुने गरी साक्षीमा राखेर वडाबाटसमेत सिफारिस लिन सफल भएको थियो। प्रक्रियामा संलग्न रहेको आरोपमा वडा सचिवमाथि पनि प्रहरीले मुद्दा दायर गरेको छ। मालपोत र नगरपालिकाका खरिदारदेखि अधिकृतसम्मका अधिकारी यो मुद्दामा मुछिएका छन्। तीमध्ये कतिपय यसअघिका ठगीको घटनामा पनि मुछिएका थिए। यो ठगीका वास्तविक योजनाकारको खोजी भइरहेको डिएसपी बाँस्तोलाले बताए।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed