नेपाल फेस्टिवल पहिलो दिन सफल
सेप्टेम्बर 23, 2013 at 2:21 अपराह्न टिप्पणी छोड्नुहोस्
महिलाहरूको सक्रियतामा आयोजित नेपाल फेस्टिवल-२०१३ को पहिलो दिन अहिले सम्मकै तुलनामा सफल भएको छ । उएनो पार्कमा भएको नेपाल फेस्टिवलमा जापानका पूर्व प्रधानमन्त्री हातोयामा युकिओको पनि सहभागिता रहेको थियो । उदघाटन समारोहमा बोल्दै जापानका पूर्व प्रधानमन्त्री डा. हातोयामा युकिओले नेपाल एक पटक पुग्नैपर्ने देश भएकोले जापानी जनताहरुलाई एक पटक नेपाल जान आग्रह गर्नुभएको छ । डा. हातोयामाले हालै मात्र नेपालको ५ दिने अनौपचारिक भ्रमण गरी फर्केको स्मरण गर्दै बिहान उठ्दाबित्तिकै अग्ला अग्ला लामबद्ध भएर ठिंग उभिएका हिमशृँखलाहरु देख्न पाईने, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको पवित्र ठाउँ लुम्बिनी र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश नेपाल आफुलाई साँच्चिकै मनमोहक लागेको बताउनुभयो । ’त्यसैले जापानी मित्रहरु एकफेरा नेपाल घुम्न जान म आग्रह गर्न चाहान्छु’ – डा. हातोयामाले भन्नुभयो – ’नेपाल भ्रमणबाट यहाँहरुले स्वर्णिम आनन्द लिन सक्नु हुने छ । जापानमा नेपाल फेष्टिबलको आयोजना गरेर आफ्नो देशलाई चिनाउने काम गर्नु हुने सबैमा बधाई तथा सफलताको शुभकामना दिन चाहान्छु ।’ सो अवसरमा डा. हातोयामाले छोटो नेपाल भ्रमणबाट आफ़ु अयन्तै प्रभावित भएको पनि बताउनुभयो ।
हातोयामासँग फोटो खिच्न चाहनेहरूको पनि भीड नै लागेको थियो । हातोयामासँग फोटो खिचेर फेसवुकमा अपलोड गर्नेहरूले राम्रै अवसर पाए भन्दा फरक नपर्ला । त्यसैगरी नेपाली परिकारहरूको स्टल राखेका रेष्टुरेन्टहरूले पनि राम्रै व्यापार गरेको देखिन्थ्यो । जतिबेला पनि रेष्टुरेन्टको अगाडि खानेकुरा किन्नेहरूको लाइनै देख्न पाइन्थ्यो ।
कार्यक्रममा नेपाली नृत्यहरू प्रस्तुत गरिएको थियो । सबैभन्दा नयाँ कुरा त फेस्टिवलमा नेपाली पञ्चेवाजाका साथमा विवाह गर्ने जोडी पनि देखिए । विदाको दिन परेकोले सोचेभन्दा बढी दर्शकहरू आएको कुरा मेलामा सहभागीहरूले अडकल काटे । फोहोर व्यवस्थापनदेखि अन्य कुराहरूमा समेत आयोजकहरूले सचेत भएकै मान्नुपर्छ । आयोजकको सही व्यवस्थापनले गर्दा पहिलो दिन कुनै अप्रिय घटनाहरू नभइकन मेला सफल भएको छ । अब आज दोस्रो दिन पनि सफल होस भन्ने कामना …।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed