म त नक्कली पत्रकार रे
अगस्ट 11, 2013 at 11:27 अपराह्न टिप्पणी छोड्नुहोस्
एकजना एनआरएनका जल्दावल्दा नेताले -“ए नक्कली पत्रकार काम छैन तिम्रो ?” भन्नुभयो । हुन पनि उहाँले ठीकै भन्नुभयो । मेरो भन्नु भन्दा पनि हाम्रो भन्न रूचाउँछु म । हामी पत्रकारहरूको न त कामै छ न त फुर्सद नै । उनै नेताहरूको घम्साघम्सीको कुरा लेख्यो वस्यो के नै काम छ र? तर नक्कली र सक्कलीको विषयमा चाहीं उहाँले हचुवाको भरमा भन्नुभए झैं लाग्छ । या त मजाक गर्नु भएको । तर जे होस भन्नुभयो राम्रै भयो । मजाकै गरेर भन्नुभएको भए पनि त्यसले फाईदा नै गर्यो किनकी एउटा सानो प्रश्न भए पनि मैले सोध्ने मौका पाएँ । कुरा के भने एनआरएनको अर्थ सवै विदेशमा वस्ने नेपालीहरूलाई थाहा होला । यदि थाहा नभएको कोही हुनुहुन्छ भने थाहा भएकाहरूलाई सोध्नुस् । नेपालीमा भन्नुपर्दा गैर-आवासीय नेपाली भन्ने बुझाउँछ क्यारे । यसको साधारण सदस्य वन्न पनि नेपाली नागरिकता अर्थात राहदानी हुनुपर्छ कि कसो हो ? यदि त्यसो होईन भने भन्नुहोला । र नेताज्यू भारतीय राहदानी बोकेको मान्छे तपाईको एनआरएनको सदस्य या भनौं त्यो भन्दा माथिको जिम्मेवारी पदमा रहन्छ भने त्यो नक्कली हो कि सक्कली ? अब कुरोको अर्थ तपाई यसरी लगाउनुहोला- उसको नागरिकता नेपाली छ । त्यसो हो भने नेपाली नागरिकताले ईन्डियन राहदानी कसरी निस्कन्छ ? फेरि तपाई भन्नुहोला होईन उसको नेपाली मन छ । यदी यहाँसम्म सोच्नुभयो भने तपाई सही ठाउँमा आईपुग्न लाग्नु भयो कि । तर तपाईले प्रमाण देखाउ आदेश जारी गर्नुहोला । यदि त्यसो गर्नुभयो भने तपाई नेता भएको काम छैन, तपाई नक्कली नेता पर्नुभयो । तर त्यसो पनि होईन भने तपाईं यो बुझ्नुस, छानबिन गर्नुस् तपाईको संस्थामा सदस्यता लिन नेपाली राहदानी, नागरिकताजस्ता कागजपत्र त पेश गर्नु नै पर्छ होला कि पर्दैन?
अर्को कुरा नेताज्यू ! हातका औंला सबै बराबर हुँदैनन् र सबै औंलाको उस्तै काम पनि हुँदैनन् । सबै औंलाको आकार र ठाऊँ अनुसार फरकफरक काम अर्थात प्रयोग छन् । त्यसै गरी तपाई एउटा संस्थामा लागेको मान्छेलाई थाहै होला । अध्यक्षदेखि सदस्यसम्मको सबैको आ-आफ्नो उत्तिकै महत्व छ । काम, कर्तव्य, अधिकार र जिम्मेवारी छ । त्यसैगरी यो समाजको प्रगति र उन्नति गर्नको लागि डाक्टर, नेता, पाईलट, किसान, व्यापारी, मजदूर, पत्रकार सवैको उत्तिकै खाँचो छ झैं लाग्छ मलाई त तर तपाईलाई कस्तो लाग्छ ? सवैलाई मेरैजस्तो काम नभएको देख्नुहुन्छ कि ? गल्ती भएको भए रिसानी नहोला । कति सँधै तपाईहरूको घम्साघम्सी र खुट्टा तानातानको कुरा मात्र लेख्ने ? यसो मनमा लागेको कुरा लेखिहालें मिलाएर वुझ्नुहोला । धन्यवाद ।।।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed