बिम्बहरूसँग सरुभक्त…

अक्टोबर 3, 2013 at 3:52 अपराह्न टिप्पणी छोड्नुहोस्

जुलुसमा कुनै झण्डा छैन
’cause बहुलाही आमाहरुको कुनै झण्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनकी बहुलाही आमाहरुको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरुदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरु
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
‘मञ्जूश्रीपट्ट’ का विशिष्ट पदकहरु टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जंगबहादुरहरुको छालाको शिकार खेल्न
देशमा बहुलाही आमाहरुको जुलुस निस्केको छ…
‘ बहुलाही आमाहरुको जुलुस’ शीर्षकको यो कविता समकालीन नेपाली साहित्यमा सर्वाधिक सशक्त, सिर्जनशील र क्रियाशील हस्ताक्षरका रुपमा परिचित सरुभक्तको हो। पोखरामा स्थापित साहित्यकार सरुभक्त सरोकार केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘बिम्बहरुका साथ सरुभक्त’ नामक एकल कविता वाचनमा कवि सरस्वती प्रतिक्षाले उक्त कविता वाचन गरेकी थिइन्। करिब दुई दर्जन कविता वाचन गरेर सरुभक्तले राजधानीका साहित्यिक मनहरुलाई घरी भावुक बनाए त घरी इतिहास सम्झाए। अनि कुनै कविताले कीर्तिपुर र काठमाडौंको सेरोफेरोको सफर गराए त कुनै कविताले पोखरा र मुक्तिनाथसम्म पुयाए।
नोस्टाल्जिक हुनेक्रममा सरुभक्तले भने, ‘तीन दसकअघि विद्यार्थीहुँदा कीर्तिपुर र काठमाडौं अनि आसपासलाई बिम्ब बनाएर लेखेको कविता आज अहिले कीर्तिपुरमा पढिरहेका विद्यार्थीलाई समर्पण गर्दै सुनाउन चाहन्छु ‘कीर्तिपुर मलाई माफ गर।’ लगत्तै उनी हिमाल पारीको जिल्ला भनिएको मुस्ताङको मुक्तिनाथ पुगे। २०५० सालमा उनले गाउँ गाउँ गएर बिम्बहरु टिपेर कविता लेख्ने अभियान नै चलाए। सोहीक्रममा २०५५ सालमा मुक्तिनाथ पुग्दा उनले संरक्षण कविता सुरु गरेका थिए र पाँच सूत्रीय घोषणापत्र जारी गरेका थिए। जुन मन्दिरमा देशभित्र र बाहिरका धर्मावलम्बीहरु वर माग्न पुगेको देखे, त्यहाँ उनले त वर माग्नुको सट्टा वर नदिनु भन्ने आग्रह गरेछन्। उनले क्षणलाई समेटेर लेखेको कविता पनि सुनाए, ‘मुक्तिनाथ मलाई मुक्तिको वर नदेऊ।’ एकल कविता वाचनको यात्रामा उनले हलभित्रका स्रोतालाई आफ्नै ठाउँ पोखराको लुम्ले पुयाए, ‘भेडाच्याङ्ग्राहरुको देश’। भोटबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएको दृष्यले सिर्जना गराएको यो कवितामा उनले कविताको अन्य यसरी गरेका थिए, ‘…सायद, भेडाच्याङ्ग्राहरुको देशमा भेडाच्याङ्ग्राहरुलाई मृत्युको अर्थ थाहा हुँदैन।’
वाचनका क्रममा सरस्वतीझैं सरुभक्तलाई अर्को विश्राम दिएका थिए, अनुप बरालले। उनले सरुभक्तलाई कवितालाई जीवनको एकदमै नजिक लगेर अदृष्य रुपमा व्यक्त गर्ने कविका रुपमा चिनेका रहेछन्। उनले भने, ‘सरुभक्त मेरा आदर्श साहित्यकार र शिक्षक हुनुहुन्छ, उहाँले कहिले प्रेमी र कहिले पागल भएर कविता, नाटक र उपन्यास लेख्नुभयो।’ सरुभक्तले पुनः वाचनको क्रम जोड्दै निरीह पशुपंक्षीका आदिम बिम्बहरुमा जीवन समेट्ने कोशिस गरे। ‘साइकल र कुखुराहरु’ शीर्षकको कविता प्रस्तुत गर्दै उनले थपे, ‘कुखुराले आकाशलाई भूइँमा देखे अनि भूइँलाई आकाश।’
‘सर्वहारा धर्तीमाथि धर्तीका काला घोडाहरु’ जस्ता लामा कवितादेखि ‘प्रेम र बम बिस्फोटन’, ‘समय’ जस्ता छोटा कविताहुँदै सरुभक्तले ‘गाउँ’, ‘भोको पेट’ र ‘सभ्यता’ जस्ता मुक्तकसम्म सुनाएर स्रोतालाई विविधता प्रदान गरे। देश, समाज, जीवन र दर्शनसम्बन्धीका पाँच मुक्तकले स्रोतालाई भिन्न भिन्न दुनियाँमा दौडाए । जीवनका व्यस्तताबीच छोटा कविताको आफ्नै महत्व हुन्छ भन्दै उनले सुनाएको प्रेम र बम बिस्फोटनको अनुभव र अनुभूतिले पाठकलाई जुरुक्क जुरुक्क पारेको थियो । २०१२ सालमा जन्मिएर २०३४ सालदेखि साहित्य सिर्जनाको ढोका उघारेका सरुभक्तले हालको शासन व्यवस्था गणतन्त्रका मात्र कविता सुनाएनन्। राणाकालीन समयको यथार्थ प्रतिबिम्ब बोकेको ‘समय’ शीर्षकको कवितामा उतिबेला गाउँघरका चेलीबेटी काठमाडौं आउँदा कसरी राणाका दरबारमा पुग्थे भन्ने तीतोसत्यलाई समेत सुनाउन भ्याए ।
कविता, गीत, मुक्तक, एकांकी र पूर्णांकी नाटक, विज्ञान कथा, बालसाहित्य र उपन्यासजस्ता साहित्यका विविध विधामा कलम चलाएर आफ्नै पाठकको पोखरी बनाइसकेका सरुभक्तका नाममा २०६० सालमै ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’ खोलिसकिएको छ । उनले नाटक र कवितामा नेपालका सर्वोत्कृष्ट पुरस्कारहरु पाइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका सरुभक्तले नेपाल र विदेशमा एकल कविता वाचनका कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । विदेशिने क्रममा वा स्वदेशमै विदेशी आउँदा भेट भएकी मारियालाई सम्झिएर लेखेको कविता पनि उनले कार्यक्रममा सुनाए। उनले अदालतमा भित्र ढाँटे पनि बाहिर साँचो बोल्छु भन्ने प्रण गरेको नाटक नगर्ने गरी कविता लेखनमा प्रस्ट बोल्ने बताउने सरुभक्तले ‘म कवि, प्रेमी र पागल’ भन्दै अर्को कविता वाचन गरे, ‘मारिया म तिमीलाई प्रेम गर्न सक्दिनँ ।’ आफ्नो हुन नसकेकी वा बनाउन नसकेकी प्रेमीकादेखि गौतम बुद्धको शुन्यवादसम्मका कविता सुनाउँदा स्रोताले विश्व परिवेशकै भ्रमण गरेको अनुभूतिसमेत गरेका थिए । प्रयोगवादीहरु मोहन कोइराला, वैरागी काइँला र ईश्वर वल्लभबाट प्रभावित भएको बताउँदै उनले थपे, ‘संसारका कविता लेख्ने सबै कविजति नै होलान् सिद्धान्त पनि ।’
सरुभक्तले डार्बिनको विकासवादी सिद्धान्त सम्झिए अनि सम्झिए नित्से, महर्षी अरबिन्द, माक्र्स आदि । सामुन्नेको ड्यासमा बसेर राष्टूकवि माधव घिमिरे, प्रज्ञा प्रतिष्ठानका कूलपति वैरागी काइँला, उपकूलपति गंगाप्रसाद उप्रेति, ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति किरण मानन्धर, संगीत तथा नाट्य प्रतिष्ठानका उपकूलपति प्रचण्ड मल्ल, प्राडा तारानाथ शर्मा, नेमकिपाका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छे, गजलकार बुँद राना, चलचित्र निर्देशक तुलसी घिमिरे र उनकी पत्नी एवं कलाकार भारती गजमेर लगायत दर्जनौं वरिष्ठहरुले सरुभक्तका बौद्धिक कविताको खुलेरै प्रसंशा गरेका थिए । सरुभक्तले कविताक्रममा फ्रायड र उनको अवचेतन मनको प्रसंग पनि सम्झिए, ‘प्रेम अवचेतन मनमा घटित हुन्छ, हिमखण्डजस्तै अनि आइसवर्गजस्तै हुन्छ प्रेम ।’ उनले थपे, ‘प्रेमका नाममा दर्शन र इतिहासहरु अनि कयौं कविता जन्मिए, रचिए अनि धेरै सभ्यताहरु ध्वस्त भए, निर्माण पनि गरिए ।’ एकल कविता वाचनको रोचक पक्ष थियो, लगभग एउटै सासमा वाचन गरिएको कविता अनि समाचारमूलक शैलीमा वाचन गरिएको कविता, ‘अवचेतन’ ।
-गोपीकृष्ण ढुंगाना (समाधान राष्ट्रिय दैनिकबाट साभार)

Entry filed under: साहित्य.

मेरो फेसबुक … अल्ट्रालाइट विमान दुर्घटनामा दुइको मृत्यु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अक्टोबर 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: